• प्राधिकरण : ११२३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२६७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : २२१५ मे.वा.घन्टा
  • निर्यात : ६४३८ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६४ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १८८१ मे.वा.
×

सुदूरपश्चिम विकासको काँचुली फेर्ने अभियानमा ‘अपि पावर’

२०७८ चैत २३

दार्चुला (घट्टेगाड) । देशको सुदूरपश्चिमी क्षेत्र लोकतन्त्र आइसक्दा पनि सम्वतः सबैभन्दा पिछडिएको मानिन्छ । राज्यले बाटो–घाटो, सडक, पुल, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता पनि त्यस क्षेत्रका लागि अड्कली अड्कली खर्च गर्ने गरेको छ । यद्यपि, पछिल्लो एक दशक यता त्यस क्षेत्रको विकासले विस्तारै काँचुली फेर्न थालेको झल्को दिएको छ ।

सुदूरपश्चिमको दार्चुला जिल्लामा अपि पावर कम्पनी लिमिटेडको प्रवेशसँग विकास निर्माण, स्थानीयको जैवनशैली, बाटो, खानेपानी, तथा कृषि सिँचाइमा परिवर्तन देखिएको छ । २०६० साल असार ५ गते स्थापना भएको अपि पावर २०७० साल साउन ६ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो ।

सोही कम्पनीले दार्चुलाको नौगड खोलामा ८.५ मेगावाटको नौगड गाड जलविद्युत आयोजना निर्माण गरी २०७२ साल भदौ २ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले सोही खोलामा ८ मेगावाटको माथिल्लो नौगड गाड आयोजना निर्माण गरी २०७६ साल कात्तिक १३ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ । हाल कम्पनीको अधिकृत पुँजी ५ अर्ब, जारी पुँजी ४ अर्ब र चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

सुदूरपश्चिममा यसरी जलविद्युत आयोजना निर्माणको ढोका खोल्ने अपि पावर पहिलो कम्पनी मानिन्छ । कम्पनीले उत्पादन गरेको १६.५ मेगावाट विद्युतसँगै स्थानीय क्षेत्रमा स्वास्थ्य, शिक्षाको पहुँच फराकिलो बनेको छ । रोजगारीका अवसर खुल्दै गएका छन् । समग्रमा दार्चुलामा मात्र नभएर सुदूरपश्चिमलाई नै विकासको गतिमा हिँडाउने प्रयास गरिरहेको छ, अपि पावरले ।

नेपाल विद्युत प्राधिकरणले दार्चुलाको चमेलिया खोलामा ३० मेगावाटको चमेलिया अर्धजलाशय आयोजना र बलाँचदेखि अत्तरियासम्म १३२ केभी १३१ किलोमिटर प्रसारण लाइन निर्माण गरेपछि अपि पावर त्यस क्षेत्रमा जलविद्युत विकास गर्न अझ हौसिएको देखिन्छ । त्यस क्षेत्रमा सरकारी र निजी क्षेत्रको सहकार्यले पनि परम्परागत विकास र जीवनशैलीलाई परिवर्तन गर्न अझ ठूलो भूमिका खेलेको स्थानीयबासीहरूको भनाइ छ ।

विद्युत उत्पादनको अभियानलाई निरन्तरता दिँदै अपि पावरले चमेलिया खोलामा ४० मेगावाटको नदीको बहाबमा आधारित माथिल्लो चमेलिया निर्माण गरिरहेको छ । अहिलेसम्म यो आयोजनाको काम करिब ७० प्रतिशत पूरा भएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले बताए । ‘सुदूरपश्चिमको अविकासको अनुहार फेर्ने हाम्रो प्रयत्न निरन्तर छ, हामीले जलविद्युतमात्र उत्पादन गरिरहेका छैनौं,’ उनले भने, ‘शिक्षा, स्वास्थ्यको विकासमा सघाउँदै रोजगारीको ढोका पनि खोल्ने प्रयास गरेका छौं ।’

परम्परागत जीवनशैलीमा बाँचिरहेका दार्चुलाबासीलाई जलविद्युत आयोजनाले आधुनिक जीवनशैलीतिर पनि तानिरहेको देखिन्छ । पछिल्लो समय जलविद्युत सँगसँगै कृषि व्यवसायलाई पनि एकत्रित गरेर लैजानुपर्ने न्यौपानेको धारणा छ । सोही योजना अनुसार माथिल्लो चमेलियाको विद्युतगृह निर्माणस्थलमा कफी खेती, बाख्रा पालन लगायत अभियान पनि सुरु गरिएको छ ।

अपि पावरले जलविद्युतमात्र उत्पादन गरिरहेको छैन । मिश्रित ऊर्जा विकास गर्ने सरकारको लक्ष्य र योजनालाई समेत सघाउ पुग्ने गरी देशका विभिन्न जिल्लामा सोलार प्लान्ट निर्माण गरी विद्युत उत्पादन भइरहेको छ । कम्पनीले अहिलेसम्म चन्द्रनिगाहपुर सोलार आयोजना ४ मेगावाट, ढल्केबर सोलार आयोजना १ मेगावाट गरी सोलारबाट ५ मेगावाट विद्युत उत्पादन गरिसकेको छ ।

यसैगरी, सिमरा सोलार आयोजना १ मेगावाट उत्पादनको चरणमा छ । हालसम्म अपि पावरले २१.५ मेगावाट विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा योगदान पुर्याइसकेको छ । यस्तै, माथिल्लो चमेलिया र केही सोलार आयोजना निर्माण गरिरहेको छ ।

अपि हिमाल र मार्मा गाउँपालिका भई बग्ने चमेलिया खोलाको पानी उपयोग गरी अपि हिमाल गाउँपालिकाको ओखलमा आयोजनाको बाँधस्थलनिर्माण भइरहेको छ । ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाइपको सहायताले पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाडमा विद्युतगृह निर्माण गरी विद्युत उत्पादन हुनेछ ।

उत्पादित विद्युत १६ किलोमिटर लामो १३२ के.भी. प्रसारण लाइनमार्फत प्राधिकरणको बलाँच सबस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिने छ । आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिँउदका ६ महिना र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ ।

आयोजना निर्माणका लागि कूल ७४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएकोमा ३० प्रतिशतले हुने २२२ करोड रुपैयाँ कम्पनीले आफ्ना शेयरधनीहरूलाई हकप्रद शेयर जारी रकम संकलन गर्ने तयारीमा छ । ७० प्रतिशतले हुने ५१८ करोड रुपैयाँ हिमालन बैंक लिमिटेडको अगुवाईमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागीले सहवित्तीयकरणमा लगानी गरेका छन् । आयोजनाबाट २०७९ फागुन १३ गते विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit